عَنْ عَلِيٍّ رضي الله عنه:
أَنَّ فَاطِمَةَ رَضيَ اللهُ عنْها أَتَتِ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ تَشْكُو إِلَيْهِ مَا تَلْقَى فِي يَدِهَا مِنَ الرَّحَى، وَبَلَغَهَا أَنَّهُ جَاءَهُ رَقِيقٌ، فَلَمْ تُصَادِفْهُ، فَذَكَرَتْ ذَلِكَ لِعَائِشَةَ، فَلَمَّا جَاءَ أَخْبَرَتْهُ عَائِشَةُ، قَالَ: فَجَاءَنَا وَقَدْ أَخَذْنَا مَضَاجِعَنَا، فَذَهَبْنَا نَقُومُ، فَقَالَ: «عَلَى مَكَانِكُمَا» فَجَاءَ فَقَعَدَ بَيْنِي وَبَيْنَهَا، حَتَّى وَجَدْتُ بَرْدَ قَدَمَيْهِ عَلَى بَطْنِي، فَقَالَ: «أَلاَ أَدُلُّكُمَا عَلَى خَيْرٍ مِمَّا سَأَلْتُمَا؟ إِذَا أَخَذْتُمَا مَضَاجِعَكُمَا -أَوْ أَوَيْتُمَا إِلَى فِرَاشِكُمَا- فَسَبِّحَا ثَلاَثًا وَثَلاَثِينَ، وَاحْمَدَا ثَلاَثًا وَثَلاَثِينَ، وَكَبِّرَا أَرْبَعًا وَثَلاَثِينَ، فَهُوَ خَيْرٌ لَكُمَا مِنْ خَادِمٍ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5361]
المزيــد ...

अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
फातिमा (रजियल्लाहु अन्हा) जाँतो पिस्दा आफ्नो हातमा परेको कष्टको गुनासो लिएर नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ उपस्थित हुनुभयो। उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही दास-दासीहरू (युद्धबन्दीहरू) आइपुगेको खबर पाउनुभएको थियो। तर, उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग भेट गर्न सक्नुभएन, तसर्थ उहाँले यो कुरा आमा आइशा (रजियल्लाहु अन्हा) लाई अवगत गराउनुभयो। जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घर फर्कनुभयो, आइशा (रजियल्लाहु अन्हा) ले उहाँलाई उक्त कुरा सुनाउनुभयो। (अली रजियल्लाहु अन्हु भन्नुहुन्छ): "हामी सुत्नका लागि ओछ्यानमा गइसकेका थियौं, त्यही समयमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो। हामीले ओछ्यानबाट उठ्न खोज्यौं, तर उहाँले भन्नुभयो: "आफ्नै स्थानमा रहिरहनु।" त्यसपछि उहाँ मेरो र फातिमाको बीचमा बस्नुभयो, यहाँसम्म कि मैले मेरो छातीमा उहाँका पाइलाको शीतलता महसुस गरें। अनि उहाँले भन्नुभयो : "के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले माग गरेको सेवकभन्दा उत्तम छ? जब तिमीहरू आफ्नो ओछ्यानमा जान्छौ, तब ३३ पटक ‘सुब्हानल्लाह’, ३३ पटक ‘अल्हम्दुलिल्लाह’ र ३४ पटक ‘अल्लाहु अकबर’ भन्ने गर। यो कार्य तिमीहरू दुवैका निम्ति एउटा सेवक प्राप्त हुनुभन्दा धेरै उत्तम छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5361]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) की छोरी फातिमा (रजियल्लाहु अन्हा) ले जाँतो (चक्की) पिस्ने कारणले हातमा उठेको फोकोबारे गुनासो गरिन्। उता रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही युद्धबन्दीहरू ल्याइएका थिए। घरको काममा सघाउन एउटा कामदार चाहियो भनेर उनी आफ्नो बुवाकहाँ पुगिन्, तर उहाँ नभएकोले सबै कुरा आइशा (रजियल्लाहु अन्हा) सित गरेर फर्किन्। जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) आउनुभयो, तब आइशा (रजियल्लाहु अन्हा) ले फातिमा (रजियल्लाहु अन्हा) एउटा सेवक लैजान अनुरोध गर्न आएकी थिइन् भन्ने कुरा बताउनुभयो। यो सुनेर, उहाँ फातिमा र अली (रजियल्लाहु अन्हुमा) को घर आउनुभयो र त्यतिबेला उनीहरू ओछ्यानमा गइसकेका थिए र सुत्ने तयारीमा थिए । उहाँ दुवै जनाको बीचमा बस्नुभयो । यहाँसम्म कि अली (रजियल्लाहु अन्हु) ले उहाँको दुवै पाइलाको शीतलता आफ्नो पेटमा महसुस गर्नुभयो। अनि उहाँले भन्नुभयो : के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले मसँग मागेको सेवकभन्दा उत्तम छ? दुवैले भने: "हो, अवश्य सिकाउनु होस्!" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: तिमीहरू राति आफ्नो ओछ्यानमा सुत्ने बेला ‘अल्लाहु-अक्बर’ ३४ पटक, ‘सुब्हानल्लाह’ ३३ पटक, र ‘अल्हम्दु-लिल्लाह’ ३३ पटक भन्ने गर्नु । यी शब्दहरू तिमीहरुका लागि सेवक राख्नुभन्दा उत्तम छ ।

हदीसका केही फाइदाहरू

  1. यो पवित्र शब्दहरूलाई निरन्तर रुपमा पढिराख्न मुस्तहब (पुण्यदायी) हो। यस सन्दर्भमा वर्णित छ कि अली (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो शिक्षा लाई कहिल्यै त्याग्नुभएन, यहाँसम्म कि उहाँले 'सिफ्फीन' को (युद्धको कठिन) रातमा समेत यसलाई पढ्न बिर्सनु भएन।
  2. यो दुआ केवल राती सुत्ने बेला पढिने हो । किनभने मुस्लिमको अर्को हदीसमा 'राती आफ्नो ओछ्यानमा सुत्ने बेला' पढ्ने कुरा उल्लेख गरिएको छ ।
  3. यदि कुनै व्यक्तिले रातको सुरुआतमा यो दुआ पढ्न बिर्सियो र रातको अन्त्यतिर याद आयो भने, त्यसबेला पनि पढ्न सकिन्छ । किनकि अली (रजियल्लाहु अन्हु) ले पनि 'सिफ्फीन'को रातमा सुरुमा यो दुआ पढ्न बिर्सनुभएको थियो र याद आएपछि बिहान हुनुभन्दा अगाडि नै पढ्नुभएको थियो।
  4. अल-मुहल्लब भन्नुहुन्छ: यसमा यो शिक्षा छ कि जसरी मानिसले आफ्नो हकमा सांसारिक जीवनभन्दा पारलौकिक जीवन (आखिरत) लाई प्राथमिकता दिन्छ, उसले आफ्नो परिवारलाई पनि सकेसम्म सोही शिक्षा दिनुपर्छ।
  5. इब्न हजर अल-अस्कालानीले भन्नुभएको छ: "जसले यी शब्दहरूलाई निरन्तर रूपमा पढ्छ, उसले धेरै काम र मिहिनेत गरे पनि उसलाई कुनै हानि हुनेछैन र थकाइ लागे पनि उसलाई कष्ट हुनेछैन।
  6. इमाम अल-ऐनीले भन्नुभएको छ: “यस जिक्रको श्रेष्ठता वा लाभलाई दुई दृष्टिकोणबाट बुझ्न सकिन्छ:
  7. प्रथम: यस जिक्रको सम्बन्ध परलोक (आखिरत) सँग छ, जबकि सेवक को सम्बन्ध केवल यल संसार सम्म सीमित छ। र निस्सन्देह, दुनियाको तुलनामा आखिरत उत्तम र चिरस्थायी छ।
  8. द्वितीय: यसको सम्बन्ध माग गरिएको विषयवस्तुसँग छ। अर्थात्, यी 'जिक्र' (अल्लाहको स्मरण) को माध्यमबाट वाचकलाई यस्तो शक्ति र सामर्थ्य प्राप्त हुन्छ, जसले गर्दा उसले सेवकको सहयोग बिना नै, त्योभन्दा अधिक कार्य सम्पन्न गर्न सक्षम हुन्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (50)
थप