عَنْ أُبَيِّ بْنِ كَعْبٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ:
«لاَ تَسُبُّوا الرِّيحَ، فَإِذَا رَأَيْتُمْ مَا تَكْرَهُونَ فَقُولُوا: اللَّهُمَّ إِنَّا نَسْأَلُكَ مِنْ خَيْرِ هَذِهِ الرِّيحِ وَخَيْرِ مَا فِيهَا وَخَيْرِ مَا أُمِرَتْ بِهِ، وَنَعُوذُ بِكَ مِنْ شَرِّ هَذِهِ الرِّيحِ وَشَرِّ مَا فِيهَا وَشَرِّ مَا أُمِرَتْ بِهِ».

[صحيح] - [رواه الترمذي] - [سنن الترمذي: 2252]
المزيــد ...

उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"तिमीहरूले हावालाई गाली नगर। यदि तिमीहरूले हावाको कारणले कुनै कष्ट वा मन नपर्ने कुरा देख्यौ भने यो प्रार्थना गर: हे अल्लाह! हामी तपाईंसँग यो हावाको राम्रो पक्ष, यसमा लुकेको राम्रो कुरा र यसलाई दिइएको आदेशको शुभफल माग्दछौँ। र हामी यो हावाको नराम्रो पक्ष, यसमा भएको नराम्रो तत्व र यसमा भएको दुष्परिणामबाट बच्नका लागि तपाईंको शरण माग्दछौँ।"

[सही] - [तिर्मीजीले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 2252]

व्याख्या

"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हावा वा हुरी-बतासलाई गाली गर्न वा सराप्न मनाही गर्नुभएको छ। हावा त केवल आफ्नो मालिक अल्लाहको आदेशले चल्छ; यसले कहिलेकाँही दया (पानी पार्ने) त कहिलेकाँही सजाय लिएर आउँछ। त्यसैले, हावालाई गाली गर्नु भनेको अल्लाहलाई नै गाली गर्नु र उहाँको इच्छामाथि रिस पोख्नु हो। बरु नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई अल्लाहसँग प्रार्थना गर्न सिकाउनुभएको छ। हावा चल्दा हामीले अल्लाहसँग हावामा भएको लाभ (जस्तै खेतीका लागि वर्षा र हावाको अनुकूलता) माग्नुपर्छ र हावामा भएको नोक्सानी (जस्तै रूखपात ढल्ने, चौपाया मर्नु, र घरहरू भत्किने विपत्ति) बाट अल्लाहको शरण माग्नुपर्छ। यसरी अल्लाहसँग प्रार्थना गर्नु र उहाँको शरण खोज्नु नै भक्तको पूर्ण समर्पण, आज्ञापालन र दासत्वको सच्चा अभिव्यक्ति हो।"

हदीसका केही फाइदाहरू

  1. हावालाई गाली गर्न वा त्यसप्रति अपशब्द बोल्न सख्त निषेध छ; किनकि हावा पनि अल्लाहकै प्रत्यक्ष आदेश र नियन्त्रणमा क्रियाशील रहने एक सृष्टि हो। त्यसैले यसलाई गरिने गाली अन्ततः यसको सृष्टिकर्ता र सञ्चालक अल्लाहतर्फ नै फर्किन्छ, जुन मानिसको 'तौहीद' (एकेश्वरवाद) मा कमीको सङ्केत हो।
  2. यसमा अल्लाह तर्फ फर्कने र समस्त कुराहरूको खराबीबाट उहाँकै शरण वा सुरक्षा माग्ने विषयको स्पष्ट व्याख्या गरिएको छ।
  3. वायु कल्याणका निम्ति पनि आदेशित हुन्छ र विनाशका निम्ति पनि आदेशित हुन्छ।
  4. इब्न बाजले भन्नुभएको छ: "हावालाई गाली गर्नु वा सराप्नु पापका कामहरू मध्ये एक हो। किनभने हावा अल्लाहको एउटा सृष्टि हो, जसलाई अल्लाहले नै चलाउनुहुन्छ र हावा राम्रो वा नराम्रो दुवै कुरा लिएर आउँछ। त्यसैले हावालाई गाली गर्नु हुँदैन। कसैले पनि "हावामाथि अल्लाहको श्राप होस्", "अल्लाहले हावालाई नष्ट गरुन्" वा "यो हावामा कुनै आशिष नहोस्" जस्ता कुराहरू भन्नु हुँदैन। बरु, एक मुसलमानले त्यही तरिका अपनाउनुपर्छ जुन नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले सिकाउनुभएको छ।"
  5. जसरी हावालाई सराप्न वा गाली गर्न मनाही छ, त्यसैगरी अल्लाहले बनाएका र उहाँको नियन्त्रणमा रहेका गर्मी, चिसो, घाम, धुलो जस्ता अन्य यस्ता कुराहरूलाई पनि गाली गर्न निषेध छ।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (46)
थप