عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«حَقُّ الْمُسْلِمِ عَلَى الْمُسْلِمِ سِتٌّ» قِيلَ: مَا هُنَّ يَا رَسُولَ اللهِ؟، قَالَ: «إِذَا لَقِيتَهُ فَسَلِّمْ عَلَيْهِ، وَإِذَا دَعَاكَ فَأَجِبْهُ، وَإِذَا اسْتَنْصَحَكَ فَانْصَحْ لَهُ، وَإِذَا عَطَسَ فَحَمِدَ اللهَ فَسَمِّتْهُ، وَإِذَا مَرِضَ فَعُدْهُ وَإِذَا مَاتَ فَاتَّبِعْهُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2162]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार छन्।” सोधियो: “हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! ती अधिकारहरू के-के हुन्?” उहाँले भन्नुभयो: “जब तिमी उसलाई भेट्दछौ, तब उसलाई सलाम गर; जब उसले तिमीलाई निम्तो दिन्छ, तब उसको निमन्त्रणा स्वीकार गर; जब उसले तिमीसँग सल्लाह माग्दछ, तब उसलाई उत्तम सल्लाह देऊ; जब उसले हाच्छिउँ गरेर ‘अल्हम्दुलिल्लाह’ (सबै प्रशंसा अल्लाहका लागि हो) भन्दछ, तब उसको जवाफमा ‘यरहमुकल्लाह’ (अल्लाहले तिमीमाथि कृपा गरून्) भन; जब ऊ बिरामी हुन्छ, तब उसलाई भेट्न (कुशलमंगल सोध्न) जाऊ; र जब उसको निधन हुन्छ, तब उसको जनाजामा सहभागी होऊ।”

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2162]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकारहरू छन्: १- कसैलाई भेट्दा "अस्सालामु अलैकुम" भनेर अभिवादन गर्नु। जवाफमा उसले "व अलैकुमुस्सलाम" भन्नेछ। २- वलीमा (विवाह भोज) आदिमा निम्तो दियो भने उसको निमन्त्रणा स्वीकार गर्नु। ३- यदि उसले सल्लाह माग्यो भने राम्रो सल्लाह दिने अनि चापलुसी वा छलबाट बच्नु। ४- जब कसैले हाच्छिउँ गर्छ र अलहम्दुलिल्लाह भन्छ, तब जवाफमा "यरहमुकल्लाह" भन्नु र हाच्छिउँ गर्ने व्यक्तिले जवाफमा "यहदिको मुल्लाह" भन्नु। ५- बिरामी हुँदा उसलाई भेट्न जानु। ६- मृतकको जनाजा नमाज पढ्नु तथा चिहानमा उसको शव दफन कार्य सम्पन्न नभएसम्म उपस्थित रहनु।

हदीसका केही फाइदाहरू

  1. शौकानीले भनेका छन्: “हदीसमा आएको ‘मुस्लिमको अधिकार’ भन्नुको अर्थ यो हो कि त्यसलाई त्याग्नु उचित हुँदैन। यसको पालना या त अनिवार्य हुन्छ, वा यति दृढतापूर्वक सिफारिस गरिएको हुन्छ कि त्यसको महत्त्व अनिवार्य कर्मजस्तै हुन्छ — जसलाई छोड्नु अनिवार्य कर्म नै छोडेजस्तै अनुचित हुन्छ।”
  2. यदि सलाम (अभिवादन) एक व्यक्तिलाई गरिएको हो भने त्यसको जवाफ दिनु व्यक्तिगत रूपमा अनिवार्य (फर्ज़ ‘अइन) हुन्छ। तर यदि समूहलाई सलाम गरिएको हो भने, तिनीहरूमध्ये एक जनाले जवाफ दिनु पर्याप्त हुन्छ। सलाम सुरु गर्नु (पहिलो अभिवादन गर्नु) भने मूलतः सुन्नत हो।
  3. बिरामी व्यक्तिसँग भेटघाट गर्नु अन्य मुस्लिम भाइहरूको कर्तव्य हो; किनकि यसले बिरामीको मनमा खुसी र शान्ति ल्याउँछ, र यो समाजका केही मानिसहरूले पूरा गर्नैपर्ने (फर्ज़ किफाया) अनिवार्य सामूहिक जिम्मेवारी हो।
  4. निमन्त्रणा स्वीकार गर्नु अनिवार्य (वाजिब) हुन्छ, जबसम्म त्यसमा शरीअत विपरीत कुनै पनि निषेधित कार्य (हराम काम) समावेश हुँदैन। यदि उक्त निमन्त्रणा विवाहको भोज (वलिमा) का लागि हो भने, अधिकांश विद्वान्‌हरूको मत अनुसार कुनै वैध धार्मिक कारणबिना त्यसलाई अस्वीकार गर्न मिल्दैन, अर्थात् स्वीकार गर्नु अनिवार्य हुन्छ। तर, यदि विवाह भोजबाहेक अन्य सामान्य भोज वा कार्यक्रमका लागि निमन्त्रणा दिइएको हो भने, बहुसंख्यक विद्वान्‌हरूको विचार अनुसार त्यसलाई स्वीकार गर्नु 'मुस्तहब' (पुण्यदायी एवं प्रशंसनीय) मानिन्छ।
  5. हाच्छिउँ गर्ने व्यक्तिले 'अल्हम्दु लिल्लाह' भनेपछि सुन्नेले "यार्हमु क्ल्लाह" भन्नु अनिवार्य हुन्छ।
  6. यसमा इस्लामिक कानुन (शरिया) को पूर्णता र उत्तमता देखाइएको छ। साथै, यसले समाज र विश्वास (ईमान) लाई बलियो बनाउन र मानिसहरूका बीचमा आपसी माया र भाइचारा बढाउन कति धेरै जोड दिन्छ भन्ने कुरा स्पष्ट पारिएको छ।
  7. (फसम्मिथु - उसलाई आशीर्वाद देऊ) र केही प्रतिहरूमा: 'फशम्मिथु' (शिन अक्षरको साथ) लेखिएको छ। 'सिन' र 'शिन' दुवैको अर्थ: भलाइ र बरकत (आशीर्वाद) को लागि दुवा (प्रार्थना) गर्नु हो। 'तश्मीत' (शिनको साथ) को अर्थ भनिएको छ: 'अल्लाहले तिमीलाई शत्रुहरूको उपहास (नराम्रो चाहना) बाट टाढा राखून् र तिम्रा शत्रुहरू खुसी हुने परिस्थितिबाट तिमीलाई बचाऊन्।' र 'तस्मीत' (सिनको साथ) को अर्थ हो: 'अल्लाहले तिमीलाई सीधा मार्ग (सही बाटो) तर्फ मार्गदर्शन गरून्।'
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (44)
थप