عَنْ سَهْلُ بْنُ سَعْدٍ رَضِيَ اللَّهُ عَنْهُ أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ يَوْمَ خَيْبَرَ:
«لَأُعْطِيَنَّ هَذِهِ الرَّايَةَ غَدًا رَجُلًا يَفْتَحُ اللَّهُ عَلَى يَدَيْهِ، يُحِبُّ اللَّهَ وَرَسُولَهُ وَيُحِبُّهُ اللَّهُ وَرَسُولُهُ»، قَالَ: فَبَاتَ النَّاسُ يَدُوكُونَ لَيْلَتَهُمْ أَيُّهُمْ يُعْطَاهَا، فَلَمَّا أَصْبَحَ النَّاسُ غَدَوْا عَلَى رَسُولِ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كُلُّهُمْ يَرْجُو أَنْ يُعْطَاهَا، فَقَالَ: «أَيْنَ عَلِيُّ بْنُ أَبِي طَالِبٍ؟» فَقِيلَ: هُوَ يَا رَسُولَ اللَّهِ يَشْتَكِي عَيْنَيْهِ، قَالَ: «فَأَرْسِلُوا إِلَيْهِ»، فَأُتِيَ بِهِ فَبَصَقَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي عَيْنَيْهِ وَدَعَا لَهُ، فَبَرَأَ حَتَّى كَأَنْ لَمْ يَكُنْ بِهِ وَجَعٌ، فَأَعْطَاهُ الرَّايَةَ، فَقَالَ عَلِيٌّ: يَا رَسُولَ اللَّهِ، أُقَاتِلُهُمْ حَتَّى يَكُونُوا مِثْلَنَا؟ فَقَالَ: «انْفُذْ عَلَى رِسْلِكَ حَتَّى تَنْزِلَ بِسَاحَتِهِمْ، ثُمَّ ادْعُهُمْ إِلَى الإِسْلاَمِ، وَأَخْبِرْهُمْ بِمَا يَجِبُ عَلَيْهِمْ مِنْ حَقِّ اللَّهِ فِيهِ، فَوَاللَّهِ لَأَنْ يَهْدِيَ اللَّهُ بِكَ رَجُلًا وَاحِدًا، خَيْرٌ لَكَ مِنْ أَنْ يَكُونَ لَكَ حُمْرُ النَّعَمِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4210]
المزيــد ...

सहल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"भोलि म यो झण्डा यस्तो व्यक्तित्वलाई प्रदान गर्नेछु, जसको हातद्वारा अल्लाहले विजय प्रदान गर्नुहुनेछ। जसले अल्लाह र उहाँका रसूललाई प्रेम गर्छ र अल्लाह र उहाँका रसूलले पनि उनलाई प्रेम गर्नुहुन्छ।" यो सुनेर मानिसहरूले रातभरि झण्डा कसले पाउने हो भनेर आपसमा छलफल र अड्कलबाजी गर्दै बिताए। बिहान सबैजना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष उपस्थित भए। सबैले झण्डा पाउने आशा गरेका थिए। उहाँले सोध्नुभयो: "अली बिन अबी तालिब कहाँ छन्?" मानिसहरूले भने: "हे अल्लाहका रसूल! उनको आँखा दुखिरहेको छ।" उहाँले भन्नुभयो: "उनलाई बोलाऊ।" जब अली (रजियल्लाहु अन्हु) लाई बोलाइयो, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको आँखामा आफ्नो राल (थुक) लगाइदिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो। फलस्वरूप उनको आँखा कुनै रोग नभएजस्तै गरी तुरुन्तै निको भयो। त्यसपछि उहाँले अली (रजियल्लाहु अन्हु) लाई झण्डा प्रदान गर्नुभयो। अली (रजियल्लाहु अन्हु) ले सोधे: "हे अल्लाहका रसूल! के तिनीहरू हामीजस्तै (मुस्लिम) नभएसम्म उनीहरूसँग युद्ध जारी रहनेछ?" उहाँले भन्नुभयो: "तिमी आफ्नै गतिअनुसार अघि बढ र जब उनीहरूको क्षेत्रमा पुग्छौ, तब उनीहरूलाई इस्लामतर्फ आमन्त्रण गर। अनि उनीहरूलाई अल्लाहको अधिकारसम्बन्धी उनीहरूको कर्तव्यहरू बताऊ। “अल्लाहको कसम! यदि अल्लाहले तिम्रो माध्यमबाट एक जना मात्र व्यक्तिलाई पनि सही मार्ग (हिदायत) मा ल्याइदिनुभयो भने, त्यो तिम्रा लागि राता-राता ऊँटहरू (त्यस समयको सबैभन्दा मूल्यवान् सम्पत्ति) प्राप्त गर्नुभन्दा धेरै उत्तम हुनेछ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4210]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूलाई जानकारी दिनुभयो कि मुस्लिमहरूले भोलिपल्ट खैबरका यहूदीहरूमाथि विजय प्राप्त गर्ने छन्। त्यो विजय एक यस्तो व्यक्तिको नेतृत्वमा हुनेछ जसलाई उहाँले झण्डा (सेनाले प्रयोग गर्ने प्रतीक) सुम्पिनु हुनेछ। यस व्यक्तिको गुण यो हो कि ऊ अल्लाह र उहाँका रसूलप्रति प्रेम राख्दछ, र अल्लाह र उहाँका रसूलले पनि उसलाई प्रेम गर्नुहुन्छ। यो महान सम्मानको आशा गर्दै सहाबाहरूले झण्डा कसलाई दिइनेछ भनेर छलफल र अड्कलबाजी गर्दै रात बिताए! भोलिपल्ट बिहान जब उनीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भए, सबैले यो सम्मान आफूले नै पाउने आशा गरेका थिए।
(जब सबैजना भेला भइसके) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले "अली कहाँ छन्?" भनी सोध्नुभयो।
भनियो : उनी बिरामी छन्; उनको आँखा दुखिरहेको छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई बोलाउनका लागि मानिस पठाउनुभयो। उनी उपस्थित भएपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको आँखामा आफ्नो पवित्र राल (थुक) लगाई दिनुभयो र उनको लागि दुआ (प्रार्थना) गर्नुभयो। फलस्वरूप, उनको आँखा कुनै रोग नभए झैँ पूर्ण रूपमा निको भयो। त्यसपछि, उहाँले उनलाई झण्डा सुम्पेर शत्रुको किल्लामा नपुगुन्जेल नम्रतापूर्वक अगाडि बढ्न र त्यहाँ पुगेपछि उनीहरूलाई इस्लाम धर्म स्वीकार गर्न आमन्त्रित गर्न आदेश दिनुभयो। यदि उनीहरू इस्लाममा प्रवेश गर्छन् भने, उनीहरूलाई अल्लाहका अधिकारहरू (इस्लामी दायित्वहरू) का बारेमा जानकारी दिन निर्देशन दिनुभयो।
त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अली (रजियल्लाहु अन्हु) समक्ष अल्लाहको धर्म अर्थात् इस्लामको मार्गमा मानिसहरूलाई आह्वान गर्ने सद्गुण (महिमा) बारे बताउनुभयो। उहाँले भन्नुभयो कि यदि कुनै धर्म प्रचारकको मार्गदर्शनले गर्दा एकजना व्यक्तिले पनि इस्लाम स्वीकार गर्छ भने, यो उपलब्धि उसका लागि रातो ऊँटहरू प्राप्त गर्नुभन्दा पनि उत्तम हुन्छ। जसको मालिक भएपछि मानिस चाहे तिनलाई आफ्नो उपयोगका लागि राखोस् वा चाहेको भए दान गरिदेओस्। यो कुरा स्पष्ट रहोस् कि रातो ऊँटहरू अरब समाजमा अत्यन्तै बहुमूल्य र प्रतिष्ठित सम्पत्तिमा गनिन्थे।

हदीसका केही फाइदाहरू

  1. यसमा अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) को श्रेष्ठता बताइएको छ, र रसूल(सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँको लागि दिनुभएको गवाही छ कि अल्लाह र उहाँका रसूलले उहाँलाई माया गर्नुहुन्छ, र उहाँले पनि अल्लाह र उहाँको रसूल प्रति प्रेम राख्नुहुन्छ।
  2. यसबाट स्पष्ट हुन्छ कि सहाबाहरू (अल्लाह उनीहरूसँग प्रसन्न हुनुहोस्) असल कार्य गर्न र त्यसमा एक-अर्काभन्दा अगाडि बढ्न निकै उत्सुक थिए ।
  3. युद्ध वा लडाइँको समयमा पनि शिष्टाचारको पालन गर्नु, तथा अनावश्यक हतारो, कर्कश र कष्टप्रद आवाजहरूबाट टाढा रहनु शरिया (धर्मशास्त्र) द्वारा आदेशित छ।
  4. यहूदीहरूमाथि मुस्लिमहरूको विजयको पूर्व सूचना र अली (रजियल्लाहु अन्हु) को आँखालाई निको पारिदिनु, यी दुवै घटना नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको साँचो दूत (रसूल) हुनुहुन्छ भन्ने कुराको स्पष्ट प्रमाण हुन्।
  5. जिहादको सबैभन्दा मुख्य लक्ष्य भनेको मानिसहरूलाई इस्लामको मार्गमा ल्याउनु हो।
  6. इस्लामको आह्वान (दा'वा) क्रमशः गर्नुपर्छ। सर्वप्रथम, दुवै कलिमा (शहादत) उच्चारण गरेर इस्लाम धर्मलाई आत्मसात् गर्न आह्वान गरिनेछ र तत्पश्चात् इस्लामका अनिवार्य कर्तव्यहरू (फर्जहरू) पूरा गर्ने आदेश दिइनेछ।
  7. इस्लामको मार्गमा आह्वान (दावत) गर्नु अत्यन्त पुण्यको काम हो, जसले आह्वान गर्ने र आमन्त्रित हुने दुवै पक्षलाई फाइदा पुर्‍याउँछ। आमन्त्रित व्यक्तिले सत्य मार्ग ग्रहण गर्नेछ भने आह्वानकर्ता ले ठूलो पुण्य पाउनेछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (53)
थप